Monday, 10 June 2024

हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी          


सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच भएको जीवन अर्थपूर्ण बनाउन प्रेरणा दिने दिव्य संवाद।


बच्चनसाहवः
श्रद्धेय ओशोका आग्नेय अभिव्यक्ति र रहस्यमयी व्यक्तित्वबाट विस्मित बच्चनसाहवले ओशो नजिक गएर भन्नुभयो- "म केवल कवि हुँ त्यसैले भविश्यवाणी गर्न सक्दिन तर म यो विश्वासपूर्वक भन्न सक्छु, तिमी यति सुन्दर, साहसी र विद्रोही छौ कि यो दुनियाँले तिमीलाई बुझ्ने र पचाउनेछैन। मलाई डर छ, तिमी मारिनेछौ।"

श्रद्धेय ओशो:
श्रद्धेय ओशोले तुरुन्तै जवाफ दिनुभयो, "बच्चनजी, सामान्य व्यक्ति जस्तै अस्पतालको बेडमा मर्ने मेरो पनि इच्छा छैन। यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहाँ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारीएँ भने मेरो हत्याले मेरा भनाइलाई अझ प्रमाणित गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरुको सन्देश यति व्यापक हुने थिएन। म आफ्नो जीवनलाई समाज रुपान्तरणकालागि उपयोग गरिरहेको छु र आवश्यक परे यसै लक्ष्यकालागि मेरो मृत्युको पनि उपयोग हुनेछ।"  


"आश्चर्य मान्नुपर्छ कि कविले भावातीत निर्दोष अवस्थामा दिएको अभिव्यक्ति भविश्यवाणी नै सिद्ध भयो।"    -स्वामी आनन्द अरुण
 
साभारः स्वामी आनन्द अरुण, (बि.सं. २०७५) । ओशो, अचम्म जो मैले देखें। एक कविको भविश्यवाणी। अध्याय - १। पेज नं. -३।  बुक-हिल पब्लिकेसन, कालिकास्थान, काठमाडौं, नेपाल ।




Sunday, 19 May 2024

हरपल नयाँ कुराहरु सिकिरहन: सन्देश बनेको मृत्यु !

                                                    डा. सिर्जना भण्डारी  

प्रश्न: स्वअध्ययन साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: हरपल नयाँ कुराहरु सिकिरहन: सन्देश बनेको मृत्यु...😢😢 🙏 🙏!

आजीवन आचार्यश्री रजनिश ओशो दर्शनका अनुयायी तथा ओशो सन्यासी रहनु भएका दिवंगत श्रद्धेय दाजु श्री राजन घिमिरेप्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दछौं। स्थुल शरीर छुट्नु अर्थात मृत्यु हुनु नयाँ जीवनको तयारी हो, वहाँको सुक्ष्म शरीरले शिघ्र सही गति लियोस, मंगलमय शुभकामना!!


वहाँसंग बिताएको छोटो तर गहन स्मृति:
राजन दाजु भन्नुहुन्थ्यो, “…श्रद्धेय ओशोलाई वाहिरी जगतले सही ढंगले बुझ्न सकेन र वहाँको अध्यात्मका गहन विषयमा इन्द्रियातीत तथा भावातीत(स्थुल शरीरका इन्द्रियहरुले अनुभव गर्न नसक्ने) अनुभूतिका चरणहरुबारे लेखिएको अत्यन्तै गहन सिर्जना ‘सम्भोगदेखि समाधिसम्म’ पुस्तकको गलत परिभाषा गरेर वहाँलाई संकीर्ण सम्भोग* गुरुको रुपमा स्थापित गरिदियो। तर श्रद्धेय ओशो अन्तर जगत अर्थात अध्यात्मका मसिहा हुनुहुन्छ, अन्तर जगत बुझेका साधकहरुले मात्र वहाँका भावहरु बुझ्न सक्छन, वहिर जगत अर्थात वाहिरका इन्द्रियहरुले अनुभव गर्ने भौतिकीलाई मात्र जीवनमा सबैथोक ठान्नेहरुको समझले ठम्याउन नसक्ने अलौकिक, रहस्यमयी महापुरुष हुनुहुन्छ आचार्यश्री रजनिश ओशो…!”


*वर्तमान समयमा संस्कृत शव्द ‘सम्भोग’को परिभाषा संकुचित भएको छ र यसलाई नारी र पुरुषको योग अर्थात आन्तरीक मिलन र मिलनको आनन्दमा मात्र सिमित गरिएको छ। तर सम्भोग शव्दको विस्तृत अर्थ हो हरेक विषयसंगको योग र उक्त योगबाट प्राप्त हुने आनन्द। आधूनिक मनोविज्ञानका वरिष्ठ श्रष्ठा तथा मनोविज्ञ सिग्मण्ड फ्रायडले पनि हरेक विषयहरुसंगको योगलाई सम्भोगको रुपमा परिभाषित गर्नुभएको छ। यदि हामी प्राकृतिक घुमफीरमा पकृतिका मनोरम छटाहरु हेरेर, छोएर, महसुस तथा अनुभूति गरेर आनन्द लिरहेको छौं भने प्रकृतिको सुन्दरतासंग हाम्रो सम्भोग अर्थात समागम भैरहेको छ। त्यस्तै आफूलाई मनपर्ने अर्थात आफ्नो शोखको कुनै काम गरिरहेका छौं; मनपर्ने व्यक्तिसंग गुणात्मक समय व्यतित गरिरहेका छौं; आफूलाई मनपर्ने खानाको स्वादमा आनन्द लिरहेका छौं भने ती सबै अवस्थाहरु सम्भोगका अवस्था हुन्, ती सबै विषयहरुसंग हाम्रो सम्भोग भैरहेको छ र यो सम्भोगबाट हामी आनन्द लिरहेका छौं जसले हामीलाई अन्तर जगतबाट प्राप्त हुने आनन्दमा पुर्याउँछ, जो ध्यान तथा समाधिको अवस्थामा मात्र अनुभूति हुनसक्छ।


यस किसिमको सम्भोगको आनन्दका विषयहरुमा लेखिएको पुस्तक हो ‘सम्भोगदेखि समाधिसम्म’ जसमा नारी र पुरुषको योग अर्थात आन्तरीक मिलन र मिलनको आनन्दको बखान कतै गरिएकै छैन। मात्र यति दर्शाउन खोजिएको छ कि यदि नारी र पुरुषको योग तथा आन्तरीक मिलन परमात्मा प्रदत्त पवित्र प्रेमको अवस्थामा भएकोछ भने यो योग तथा सम्भोग प्राकृतिक तथा इश्वरीय हो जसमा उनीहरुको स्थुल शरीरको मात्र नभएर आत्माको मिलन भैरहेको हुन्छ, यो सम्भोगको आनन्दबाट समाधितिरको यात्रा प्रारम्भ हुनसक्छ!!!


गहन अर्थ बोकेको उखान- “जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बींड।” यस्ता उखानहरु त्यसै लोकप्रिय हुदैनन्, तिनमा गहिराइ हुन्छ जसले मानिसको बुझ्ने क्षमताको माग गर्दछ।




Friday, 3 May 2024

हरपल नयाँ कुराहरु सिकिरहन: भगवान दत्तात्रेयले राजा अलर्कलाई आत्मज्ञान प्रदान !

                                                डा. सिर्जना भण्डारी  

प्रश्न: स्वअध्ययन साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: हरपल नयाँ कुराहरु सिकिरहन: भगवान दत्तात्रेयले राज्यबाट अपदस्त दु:खी राजा अलर्कलाई सहजै आत्मज्ञान प्रदान गर्नुभयो !


…तिमीसंग पहिला के थियो र के लिएर जान्छौ भन्ठानेका छौ…? व्यर्थै सांसारीक अनित्य वस्तुका पछाडि नलाग… ब्रह्मज्ञान प्राप्त गर्न योगको बाटो लाग…

-योगबाट मोक्ष प्राप्त हुन्छ र सम्यक ज्ञान(अष्टांगिक मार्ग तथा अष्टांग योग)बाट योग प्राप्त हुन्छ।
-योगबाट आत्मदर्शन प्राप्त हुन्छ र आत्मदर्शनबाट सर्वसिद्धि प्राप्त हुन्छ।
-सुकर्मले मोक्ष प्राप्त हुन्छ, अकर्मले दुर्गति प्राप्त हुन्छ।
-योगअभ्यास र प्राणायामले शरीरका दोष, धारणाले मानसिक पाप, प्रत्याहारले विषय आशक्ति, ध्यानले अनिश्वरवादी सोचको नाश हुन्छ। प्राणवायुको साधनाले पाप नासिन्छ तर शरीर ताजा बनाउँछ।
-योगअभ्यास र प्राणायामले पहिलो चरणमा चञ्चलता त्याग, आरोग्य, अनिष्ठुरता, सुगन्धको संचार, अनुहारमा कान्ति, सुमधूर वाणिको शुरुआत गराउँदछ र वाहिरी मौसम अर्थात जाडो तथा गर्मीको प्रभाव कम गर्दछ। 
-योगीको आचरण मान, अपमान र मनोवेगलाई पूर्णतः नियन्त्रण गरि आत्मज्ञानको खोजीमा लाग।

साभारः डा. बद्रि पोख्रेल, (बि.सं. २०७६) । श्रीमार्कण्डेयमहापुराण - अध्यायगत सारांश। अध्याय - ३६ । नारायण पन्थ। विश्व स्वतन्त्र संचार, नेपाल ।



Thursday, 28 March 2024

योग-ध्यान साधना गरेर आत्मानुशासित नागरिक बनि नवयुग निर्माण गर्न !

                                                डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: योग-ध्यान साधनाको अनुशरण गरेर आफू आत्मानुशासित नागरिक बनि नवयुग निर्माण प्रारम्भ गर्न !


नवयुग निर्माणको अर्थ हो सबैको हित हुने विशेष तथा महत्वपूर्ण विराट कार्यको प्रारम्भ गर्नु। अज्ञानतावस विभिन्न कारणले धर्म तथा अध्यात्मबाट दुरी बढेकोले असल संस्कारबाट दुर हुदै गएका विश्व समाजका अधिकांश मानिसहरुको जीवनशैली रोगयुक्त, अशान्त, असहज, असन्तुलित, अस्तव्यस्त तथा समस्याग्रस्त भएका थुप्रै अनगिन्ती तथ्यहरु हाम्रा सामु असरल्ल छन्। यस किसिमका समस्याहरुको एक मात्र सामाधान सबैलाई सनातन अध्यात्मले प्रादुर्भाव गरेको योगध्यान साधनाको प्रयोगात्मक अभ्यास तथा व्यवहारिक ज्ञान प्रदान गरेर धर्म, अध्यात्म तथा असल संस्कारसंग जोड्नु रहेको छ। यो महान तथा महत्वपूर्ण कार्यको साहसिलो प्रारम्भ वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान# प्रतिष्ठानले गरेको छ। भगवान गौतम वुद्धको जन्मस्थल रुपन्देही, लुम्बिनी स्थित लुम्बिनी विकास कोषले निर्माण गरेको पाँच हजार जना एकै पटक ध्यान साधना गर्नसक्ने क्षमता भएको अन्तर्राष्ट्रिय ध्यान सभा केन्द्रमा एकै साथ पाँच हजार जनाको सहभागितामा विराट चक्र विज्ञान सप्ताहको आयोजना गरेर विश्वमै विराट आध्यात्मिक जागरणको अद्वीतिय सन्देश जाने गरि चैत्र १७ देखि २३ गतेसम्म योगध्यान महायज्ञको थालनी गर्ने भएकोछ।  


योगध्यानको यस महायज्ञ विराट चक्र विज्ञानमा अनुभवी श्रद्धेय सद्गुरु द्वय रमेश नेपालज्यू तथा एल.पि. भानु शर्माज्यूद्वारा सात दिनसम्म विहान साँढे सात बजेदेखि साँझ पांच बजेसम्म योगध्यानका विभिन्न प्रयोगात्मक र व्यवहारिक विधिहरुको अनुशरण गरि मानिसको सुक्ष्म शरीरमा रहेका उर्जाका केन्द्र सात चक्रहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्दै सहभागिहरुको सातवटै चक्र जागरण गर्न मद्धत गरिनेछ। योगध्यान सधनाका विधिहरुको अनुशरण गरेर आफ्ना उर्जाका केन्द्रहरु सात चक्र जाग्रित गरेको हरेक व्यक्तिमा सही अवसरको अभावमा उ भित्र दवेर रहेका उसका स्वस्थ रहन सक्ने, सदा खुशी र सुखी रहन सक्ने, आत्म-विश्वास तथा आत्म-सममानले पूर्ण हुन सक्ने, राम्रो सम्वन्ध बनाउन तथा काममा अरुसंग सहकार्य गर्न सक्ने, ज्ञान तथा वौद्धिकता आर्जन गर्न सक्ने तथा सिर्जनशील बन्न सक्ने, कुनैपनि काम आँट्न र पूरा गर्न सक्ने तथा सदा शान्त र आनन्दित रहन सक्ने क्षमता तथा प्रतिभाहरु प्रस्फुटीत हुन्छन् र उसको जीवनमा सुख, शान्ति र समृद्धि स्वतः भरिन्छ, र उ जीवनका हरेक आयामहरुमा सफल व्यक्ति बन्दछ। यसरी आफ्नो जीवनमा सुखी, शान्त र समृद्ध भएको सफल व्यक्ति नै हरेक प्रकारले नवीनताले भरिएको नागरिक बन्दछ र नवीन नागरिकले नै नवयुग निर्माणको महान कार्यमा सहयोग तथा योगदान पुर्याउन सक्दछ। 


तसर्थ, हामी सबैले योग-ध्यानका विधिहरु सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामाविराट चक्र विज्ञानमा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नवयुग निर्माण महान कार्यमा योगदान गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक तथा योगगुरु बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।



Wednesday, 27 March 2024

कर्मयोगमा योगस्थ भइ जीवनमा सुख, शान्ति समृद्धि हासिल गर्न!

                                                         डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: कर्मयोगमा योगस्थ भइ जीवनमा सुख, शान्ति समृद्धि हासिल गरेर मानवी यताको सेवा गर्न!


मानव जन्म कर्मयोनी हो। मानव भएर जन्मिएपछि कर्म गर्नु अपरिहार्य हुन्छ। के कर्म गर्ने, कस्तो कर्म गर्ने र कसरी गर्ने भन्ने विषयमा हरेक व्यक्तिको आ-आफ्नै निर्णय तथा रोजाइ हुनु आवश्यक हुन्छ ताकि असल तथा आवश्यक वर्गकालागि उपयोगी हुने कर्मको माध्यमबाट हरेक मानिसले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धि हासिल गर्न सकोस र मानवीयताको सेवा गर्न सकोस किनकी आफूलाई रुची भएको तथा आफैंले रोजेको कर्म मात्र आफू, परिवार, समाज, देश तथा सबैकालागि सफलतामुखी, उपयोगी, दिगो र महत्वपूर्ण कर्म बन्न सक्दछ। सनातन अध्यात्म दर्शनको परिभाषा अनुसार त्यस्तो व्यक्ति आध्यात्मिक तथा धार्मिक व्यक्ति हो जो आफ्नो असल कर्मको माध्यमबाट आफू सुख, शान्ति, समृद्धिले भरिन्छ र अरुको जीवनमा पनि सुख, शान्ति, समृद्धि ल्याउन सहयोग गरि मानवीयताको सेवा गर्दछ।


सनातन आध्यात्कि दर्शनका विभिन्न दर्शन शास्त्रहरुले कर्म र कर्मयोगको विषयमा युगौंदेखि तत्-तत् समयमा समय सान्दर्भिक हुने किसिमले धेरै व्याख्या, विश्लेषण, जानकारी तथा ज्ञान प्रदान गरेका छन्। जुनसुकै ज्ञान जति समय सान्दर्भिक हुन्छ त्यतिनै सबैकालागि उपयोगी तथा प्रतिफलमुखी हुन्छ। अहिलेको समय धार्मिक तथा आध्यात्मिक हिसावले कलियुग हो र आधूनिक तथा उत्तर-आधूनिक समय तथा मानिसहरुको जीवनशैलीको हिसावले विज्ञान प्रविधि तथा सूचना प्रविधिले युक्त २१औं शताव्दी हो, तसर्थ कर्म तथा कर्मयोगको सन्दर्भ अहिलेको परिवेससंग मिल्ने तथा समय सान्दर्भिक हुनु आवश्यक छ।


समयको विभिन्न कालखण्डमा पूर्वीय अध्यात्म दर्शन वेदान्तका अध्ययता पूर्वज श्रद्धेय जगतगुरु, आचार्य तथा सद्गुरुहरुले आफ्नै किसिमले समय सान्दर्भिक हुनेगरि कर्म र कर्मयोगको व्याख्या, विश्लेषण तथा परिभाषा गर्नुभयो। सबै स्रष्टाहरुले हरेक मानिसले जीवन जीउने क्रममा कर्म, धर्म र अध्यात्मलाई संगसंगै तथा एकसाथ लानु पर्दछ र यसो गर्न सके मात्र मानिसले गर्ने कर्म कर्मयोग बन्दछ र मानिसको जीवनमा स्वतः सुख, शान्ति र समृद्धि आउँछ भन्ने कुरामा जोड दिनुभयो। समयको लामो कालखण्डसम्म मानिसको जीवनशैली यही रितमा चल्दै गयो तर पछिल्लो समय या भनौं विश्वमा विभिन्न समयमा भएका खासगरि अत्यास लाग्दा  खासगरी धार्मिक, सामाजिक, सांस्कृतिक तथा साम्प्रदायिक, राजनीतिक, आर्थिक विभिसिकाहरू र पछिल्लो चरणमा आधूनिक भौतिक विज्ञानले गरेका प्रगतिहरु र यसले ल्याएको विश्वव्यापि भूमण्डलीकरणका  सकारात्मक तथा नकारात्मक परिणामहरु संगसंगै मानिसको जीवनलाई हेर्ने तथा बुझ्ने दृष्टिकोण, उसको जीवनशैली, जीवनको प्राथमिकता तथा रोजाइमा विस्तारै परिवर्तन ल्यायो र मानिस-मानिसमा जीवन र जगतलाई तथा कर्म, धर्म र अध्यात्मलाई हेर्ने तला बुझ्ने दृष्टिकोणमा विविधता आयो र यसले मानिसमा उच्च आकांक्षा, प्रतिस्पर्धा, वर्ग विभाजन तथा सम्पन्न र विपन्नताको बुझाई, असफलता, नैराश्यता आदि ल्यायो र कर्म, धर्म र अध्यात्मको परिभाषा, बुझाइ तथा अनुशरणमा पनि विविधता आयो र मानिसले कर्म, धर्म र अध्यात्म एकअर्काका अपरिहार्य परिपूरक विषयहरुलाई फरक-फरक विषयको रुपमा र एकअर्काका विपरित तथा एकसाथ गर्नै नसकिने विषयका रुपमा बुझ्न थाल्यो र कर्म, धर्म र अध्यात्मको अपरिहार्यतालाई चटक्कै बिर्सेर केवल कर्मलाई खासगरी फाइदामूलक र प्रतिस्पर्धात्मक कर्मलाई मात्र जोड दिन थाल्यो। यही गलत बुझाइका कारण कर्मलाई कर्मयोग बनाउन असफल भयो। यसरी कर्म, धर्म र अध्यात्मको मूल मर्मबाट टाढिदै गएको कारण उसको जीवन अव्यवस्थित, अस्तव्यस्त र असन्तुलित बन्न पुग्यो। 


आजको युगमा कर्म, धर्म र अध्यात्मको मूल मर्मबाट दुर भएर अव्यविस्थित तथा असन्तुलित जीवनशैली जीरहेका मानिसहरुलाई पुनः सनातन अध्यात्मले जोड दिदै आएको वैज्ञानिक पद्धति कर्म, धर्म र अध्यात्मलाई एकसाथ अनुशरण गरेर तथा गराएर आजका मानिसहरुको जीवनमा सुख, शान्ति र समृद्धि फर्काउने क्षेत्रमा काम गर्नु आजको टड्कारो आवश्यकता बनेको छ। यसकालागि सनातन अध्यात्म दर्शनमा उल्लेख गरिएका वैज्ञानिक पद्धतिमा आधारित रहेर योगध्यानका प्रयोगात्मक अभ्यास, साधना तथा ज्ञान सिकाउने आधुनिक आध्यात्मिक संस्था तथा गुरुहरुसंग जोडिनु आवश्यक हुन्छ। योगध्यानका वैज्ञानिक विधिहरुलाई विधिपूर्वक आफ्नो जीवनशैलीमा अनुशरण गर्दा मानिसको सुक्ष्म शरीरमा रहेका उर्जाका श्रोत सात चक्रहरुको जागरण हुने र चक्र जागरण भएपछि सही अवसरको अभावमा मानिस भित्र दवेर रहेका उसका प्रतिभा तथा क्षमताहरु स्वतः प्रष्फुटीत हुने हुनाले मानिस आफ्नो रुची भएका हरेक क्षेत्रमा कर्म गर्न जागरुक तथा अग्रसर हुन्छ र जीवनमा सफलता हासिल गर्दै  जान्छ र उसको जीवन सुख, शान्ति र समृद्धिले भरिन्छ र उसले  आफ्नो असल कर्मको माध्यमबाट आफू लगायत परिवार, समाज तथा देशलाई सुखी, शान्त, समृद्ध बनाउँदछ र अरुको जीवनमा पनि सुख, शान्ति, समृद्धि ल्याउने कार्ममा लागेर अरुलाई सहयोग गरि मानवीयताको सेवा गर्न अग्रसर हुन्छ।


तसर्थ, हामी सबैले योग-ध्यानका विधिहरु सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा विराट चक्र विज्ञानमा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक तथा योगगुरु बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।

Tuesday, 26 March 2024

शरीर र सुक्ष्म तथा उर्जा शरीरको व्यवस्थापन गरि आध्यात्मिक जीवन जीउन !

                                                    डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: हाम्रो स्थुल शरीर र सुक्ष्म तथा उर्जा शरीरको अन्तर-सम्वन्ध आत्मबोध गरि व्यवस्थित आध्यात्मिक जीवन जीउन !


सनातन अध्यात्म दर्शनले मनुष्यहरुलाई आफ्नो अमूल्य जीवनको विज्ञानको सही जानकारी तथा महत्व बुझाउन मानव शरीरलाई समग्रमा स्थुल र सुक्ष्म अर्थात उर्जा शरीर गरि यस अन्तर्गत  विभिन्न तह तथा भागमा विभाजन गरेको छ। मोटामोटी रुपमा मानव शरीरलाई तीन तहमा विभाजन गरिएको छ- स्थुल शरीर, सुक्ष्म शरीर र कारण शरीर। सुक्ष्म शरीरमा रहेका उर्जाका केन्द्र सात चक्रहरुलाई आधार मानेर मानव शरीरलाई सात तहमा विभाजन गरिएको छ- भौतिक अर्थात स्थुल शरीर, प्राणिक शरीर, मनस शरीर, भावनात्मक शरीर, वौद्धिक शरीर, आत्मिक र चेतनात्मक अर्थात परम शरीर। पंचकोषहरुलाई आधार मानेर मानव शरीरलाई पाँच तहमा विभाजन गरिएको छ- अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष। 


अन्नमय कोषका अनुसार अन्नबाट निर्मित दृश्य चित्रमा रहेको तथा देख्न र छुन सकिने हाम्रो भौतिक शरीर नै स्थुल शरीर हो र अरु सबै शरीरहरु देख्न नसकिने तर अनुभूति मात्र गर्न सकिने सुक्ष्म अर्थात उर्जा शरीरहरु हुन्। स्थुल तथा सुक्ष्म अर्थात उर्जा  सबै शरीरहरुको आ-आफ्नै परिभाषा, महत्व तथा क्रिया र कर्महरु रहेका छन्। हाम्रो स्थुल शरीर यन्त्र मात्र हो यसलाई सुक्ष्म अर्थात उर्जा शरीरले चलाएको हुन्छ तथा नियन्त्रण गरेको हुन्छ। हामीले नियमित रुपमा गर्ने आहार, विहार र विचारले स्थुल शरीरलाई प्रत्यक्ष प्रभाव पार्दछ र हाम्रो आहार, विहार र विचारलाई सुक्ष्म अर्थात उर्जा शरीरमा हुने सकारात्मक तथा नकारात्मक गतिविधिहरुले प्रत्यक्ष प्रभाव पार्दछ। समग्रमा भन्नु पर्दा हाम्रो सुक्ष्म शरीर अर्थात आत्मा तथा चेतना उर्जा शरीर हो र अध्यात्म विज्ञान पूर्णतः उर्जाको विज्ञान हो। उर्जा (योगको भाषामा कुण्डलिनी तथा प्राण उर्जा भनिन्छ) तीन किसिमका हुन्छन् शारीरिक तथा जीवन उर्जा, प्राकृतिक तथा जगत उर्जा र ब्रह्माण्डिय तथा परम उर्जा। यिनै तीन किसिमका उर्जाहरुको समन्वयबाट हाम्रो जीवन चलेको हुन्छ। यि तीन किसिमका उर्जाहरुलाई व्यवस्थित तथा सन्तुलित राख्न सके मात्र हाम्रो समग्र स्थुल तथा सुक्ष्म अर्थात उर्जा शरीर व्यवस्थित तथा सन्तुलित रहन्छ र यि तीन किसिमका उर्जाहरुलाई व्यवस्थित तथा सन्तुलित राख्न नसकेको अवस्थामा हाम्रो  स्थुल तथा सुक्ष्म शरीरहरुमा अब्यवस्था, अस्तव्यस्तता तथा असन्तुलन आउँछ र यसको परिणामस्वरुप हाम्रो जीवनमा शारीरिक तथा मानसिक रोग, असफलता, बेखुशी, आत्मविश्वासमा कमी, सम्वन्धमा असहजता, अज्ञानता, परानिर्भता, आँटेको कार्य गर्न वाधा, अशान्ति जस्ता समस्याहरु देखा पर्दछन् र समग्र जीवनशैली नै असहज तथा अव्यवस्थित बन्न पुग्दछ।


उर्जा शरीरलाई व्यवस्थित तथा सन्तुलित गर्न सक्यौं भने हाम्रो स्थुल शरीर, मनस शरीर लगायत सबै शरीरहरुमा देखिएका तथा देखिने सम्भावना रहेका सबै किसिमका रोग तथा समस्याहरु समाधान भएर जान्छन् किनकी स्थुल, मनस, भाव आदि शरीरहरुमा देखिने सबै प्रकारका रोग, समस्या तथा असन्तुलनहरु सबैभन्दा पहिला उर्जा शरीर तथा हाम्रो आभा मण्डलमा देखिन्छन् र केही समयपछि मात्र स्थुल तथा मनस र अन्य शरीरहरुमा देखिन्छन्। तसर्थ योगध्यानका विधिहरुको सही अनुसरण गरेर हाम्रो उर्जा शरीरलाई व्यवस्थित तथा सन्तुलित गर्न अति आवश्यक हुन्छ। योगध्यान साधनाले हाम्रो सुक्ष्म तथा उर्जा शरीरमा रहेका उर्जाका केन्द्र सात चक्रहरुलाई सन्तुलन तथा जाग्रित गर्दछ र हाम्रो समग्र स्थुल तथा सुक्ष्म शरीरका गतिविधिहरुलाई व्यवस्थित तथा सन्तुलित गर्न मद्धत गर्दछ र मानिस जीवनमा सुख, शान्ति र समृद्धिले भरिन्छ र उ आनन्दले भरिपूर्ण आध्यात्मिक जीवन जिउँन सक्षम हुन्छ।


तसर्थ, हामी सबैले योग-ध्यानका विधिहरु सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा विराट चक्र विज्ञानमा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक तथा योगगुरु बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।





Monday, 25 March 2024

प्रमात्रा भौतिक विज्ञान र अध्यात्म विज्ञान जानेर वैज्ञानिक अध्यात्मको प्रवद्र्धन गर्न !

                                                    डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: प्रमात्रा भौतिक विज्ञान(Quantum Physics) र अध्यात्म विज्ञान विचको अन्तरसम्वन्ध जानेर वैज्ञानिक अध्यात्मको प्रवद्र्धन गर्न ! 


प्रमात्रा भौतिक विज्ञानका पछिल्ला खोजहरुले परम्परागत भौतिक विज्ञान(Conventional Physics)ले स्थापना गरेका पुराना मूल्य-मान्यताहरुलाई तोडेर अर्थात ति मूल्य-मान्यताहरुलाई असत्य सावित गर्दै आधूनिक तथा प्रमात्रा भौतिक विज्ञानले उजागर गरेका तथ्यहरुलाई सनातन अध्यात्म दर्शनका मूल्य-मान्यताहरुसंग जोड्दै लगिरहेका छन्। सबैले बुझ्ने गरि सजिलो भाषामा भन्नु पर्दा विश्व समाजमा आधूनिक तथा प्रमात्रा भौतिक विज्ञानका पछिल्लो समयमा गरिएका नयाँ-नयाँ खोजहरुले नै सत्ययुग तथा आध्यात्मिक मूल्य-मान्यताहरु(Spiritual Values) को पुन:स्थापना गर्ने कार्यको शुरुआत गरिसकेका छन्, तसर्थ वैज्ञानिक अध्यात्मको प्रवर्द्धन गर्न अहिलेको इस्वी २१औं शताब्दीको समय एकदम सही रहेको मान्न सकिन्छ। 


परम्परागत भौतिक विज्ञानले हाम्रा ज्ञान-इन्द्रियहरुले अनुभव गर्न सक्ने तथा ल्यावमा परिक्षण गर्न सकिने वस्तु, विषय तथा गतिविधिहरु मात्र प्रमाणिक सत्य तथा विज्ञान हुन् भन्ने दावी गर्यो र यस सम्वन्धमा धेरै अप्रमाणित भ्रमहरु पैदा गर्यो तर पछिल्लो समयमा प्रमात्रा भौतिक विज्ञानले गरेका नयाँ-नयाँ खोज, अनुसन्धान तथा अध्ययनहरु- अटोमिक थेयरी(Atomic Theory), एम थेयरी(M Theory), स्ट्रीङ थेयरी (String Theory), सुपर-स्ट्रीङ थेयरी(Super-String Theory), बटरफ्लाइ इफेक्ट थेयरी(Butterfly Effect Theory), वेव पार्टीकल डुवालिटी(Wave Particle Duality) लगायत अन्य क्वान्टम मेकानिजनका  सिद्धान्तहरुले यस किसिमको दावी तथा भ्रमलाई चिर्दै तथा असत्य सावित गर्दै हजारौं वर्ष अघि पूर्वीय अध्यात्म दर्शनले स्थापित गरेका जीवन र जगत/ब्रह्माण्डका सुक्ष्म तथा अतिसुक्ष्म मूल्य-मान्यताहरुलाई स्वीकार गरेको छ र यि मूल्य-मान्यताहरु पुनःस्थापित हुने प्रक्रिया अघि बढिरहेको संकेतहरु देखिन थालेका छन्, यसकासाथै सनातन अध्यात्म विज्ञानलाई नै मूल विज्ञान तथा महा विज्ञान(Super Science)को मान्यता प्रदान गर्न थालेका छन्। पछिल्लो समयमा प्रमात्रा भौतिक विज्ञानको विषयमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले ब्रह्माण्डको नियमबारे अझै धेरै कुरा जान्न र बुझ्न तथा धेरै ज्ञान लिन बाँकी रहेको र अहिलेसम्म जानकारीमा आएका तथ्यहरुले ब्रह्माण्डबारे अत्यन्त कम अध्ययन गर्न सकेको स्वीकार तथा उजागर गर्दै आइरहेका छन्।
 

सनातन अध्यात्म दर्शनले हजारौं वर्षदेखि जीवन र जगत/ब्रह्माण्डको अन्तिम श्रोत ब्रह्माण्डिय उर्जा हो, ब्रह्माण्डिय उर्जाको अन्तिम श्रोत चेतना हो, हामी सबै त्यहि विराट ब्रह्माण्डिय उर्जा तथा चेतनाका साना-साना अंश हौं, सबै एकअर्कासंग अन्तर-सम्वन्धित तथा जोडिएका छौं र यहाँ कोही पनि कसैबाट अलग छैन भन्ने शाश्वत सत्य उजागर गर्दै आइरहेको छ र यही शाश्वत ज्ञानलाई नै अहिलेको आधुनिक तथा प्रमात्रा भौतिक विज्ञानले सत्य मान्दै तथा स्वीकार गर्दै सम्पूर्ण ब्रह्माण्ड उर्जाका तरङ्गहरुले बनेको छ र ब्रह्माण्डका सबै जड तथा जीवतत्वहरु ब्रह्माण्डिय उर्जाका अभिन्न अंश हुन् र ति सबै उर्जाबाट नै निर्मित भएका हुन् भन्ने विभिन्न प्रमाणिक तथ्यहरु प्रस्तुत गरिसकेको छ । र अहिलेसम्मका पूर्वीय अध्यात्म दर्शनका विभिन्न शास्त्रहरु मध्य सवैभन्दा वैज्ञानिक तथा प्रमाणिक शास्त्र श्री कृष्ण भगवानद्वारा प्रतिपादित 'श्रीमद् भगवद् गीता' मा उल्लेख गरिएका आध्यात्मिक तथ्यहरुमाथि विश्वव्यापि रुपमा वैज्ञानिक खोज, अनुसन्धान तथा अध्ययन गर्ने महान कार्यको प्रारम्भ भएको छ।


सनातन आध्यात्म दर्शनको मान्यता अनुसार मानव भएर जन्मनुको प्रमुख कारण आफूतिर फर्किएर तथा आफैंभित्र अन्तरयात्रा गरेर आत्मानुभूत तथा तत्वज्ञान हासिल गरि बारबार दोहोरीरहने जन्म- मृत्युको दु:खदायि चक्रबाट पार भइ मुक्ति तथा मोक्षमा पुग्नु हो, यसकालागि योगध्यान साधनाको अभ्यास गरेर आफूभित्र सुक्ष्म रुपमा रहेका उर्जा (जो सबै उर्जाहरुको अन्तिम श्रोत ब्रह्माण्डिय उर्जासंग एकाकार रहेको छ) का श्रोत सात चक्रहरुको जागरण गर्नु आवश्यक हुन्छ। चक्रहरु जाग्रीत भएको मानिस स्वतः आध्या तिमक तथा धार्मिक हुन्छ र उसको जीवनमा चाहे अनुसार सुख, शान्ति, समृद्धि हासिल गर्न सक्छ।


तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 


हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी              सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनब...