Sunday, 18 February 2024

आफूभित्र आध्यात्मिक व्यक्तित्व जाग्रीत गर्न !

                                                                    डा. सिर्जना भण्डारी 



प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?
उत्तर: आफूभित्र आध्यात्मिक व्यक्तित्व जाग्रीत गर्न !

संस्कृत भाषाका दिव्य दुइ शव्दावली ‘धर्म’ र ‘अध्यात्म’को शाव्दीक अर्थ र भाव अर्थको सन्दर्भमा अहिलेको पुस्ता सबैभन्दा बढि अलमल तथा अस्पष्टतामा छ र केही वर्ष अघिसम्म म आफैं पनि अलमलमै थिएं। 


धर्म 
धर्म भनेको पूजा, पाठ, ब्रत, तिर्थ, संस्कार, रीति-रिवाज, मत, पन्थ, सम्प्रदाय तथा रिलिजन नभएर यस ब्रह्माण्डमा रहेका हरेक जड तथा जिवहरुको स्वभाविक गुण हो जुन एक निश्चित नियमभित्र रहेर आफ्नै स्वरुपमा दृश्य तथा अदृश्य भएर चलिरहन्छन्। जस्तो ब्रह्माण्ड, सृष्टि अर्थात प्रकृति जो आफ्नो स्वाभावमा निरन्तर चलिरहन्छ। त्यस्तै वनस्पति, जिव तथा प्राणीहरुका शरीरका प्रक्रियाहरु जो आफ्नो स्वाभावमा निरन्तर चलिरहन्छन्। तसर्थ धर्म भनेको सही अर्थमा सृष्टिको कानून हो, आफ्नो स्वाभाव धारण गर्नु हो र आ-आफ्नो कर्तव्य पालन गर्नु हो।

 
अध्यात्म
अध्यात्म अर्थात अधि+आत्म आत्मज्ञान, आत्मा तथा परमात्माको ज्ञान हो। भगवान श्रीकृष्णले भन्नु भएकोछ “परमं स्वभावोऽध्यात्ममुचते”(भगवद्‌गीता अध्याय-८, श्लोक-१) अर्थात स्वयंको स्वाभावको अध्ययन नै अध्यात्म हो। अध्यात्म दर्शन हो, विज्ञान हो, ऋषि-मनिषिहरुको चिन्तनको निचोड हो। अध्यात्म दर्शन तथा विज्ञानमा आत्मा, परमात्मा, ब्रह्माण्ड, सृष्टि-प्रलय, जन्म-मृत्यु, पूनरजन्म, मुक्ति-मोक्ष, जड-जिव, माया आदिको विषयमा विचार, विवेचना, अध्ययन, अनुभव तथा अनुभूति गर्दै परमसत्यको खोजी गरिन्छ। भौतिक जगतमा सबै वस्तुहरु दृश्य हुन्छन् र प्राय सबै जिज्ञासाहरुको जवाफ हुन्छ तर पराभौतिक जगत अर्थात अध्यात्म भावातीत अनुभव तथा अनुभूतिहरुको विज्ञान भएकोले यसमा सबै वस्तुहरु दृश्य हुदैनन् र सबै जिज्ञासाहरुको जवाफ शव्द तथा हाउभाउ/इशाराले जस्ताकोतस्तै बुझाउन सकिदैन। यसकालागि स्वयंको अध्ययन अर्थात आफू भित्रको अन्तरयात्रा गर्नु आवश्यक हुन्छ जुन सिर्फ ध्यान साधनाको माध्यमबाट मात्र सम्भव हुन्छ। 


ध्यान साधना( तन, मन र वुद्धिको शुन्यताको अभ्यास) अध्यात्म दर्शनको सर्वाधिक महत्वपूर्ण पद्धति योग दर्शन तथा योग साधनाको अति महत्वपूर्ण अंग हो। हाम्रो जीवनमा ध्यान साधनालाई सहज, उपयोगी र उपलव्धिमूलक बनाउन योग साधनाका अन्य अंगहरु क्रमशः यम(अरु तथा संसारप्रति गर्नुपर्ने सकारात्मक व्यवहार), नियम(आफूप्रति गर्नुपर्ने सकारात्मक व्यवहार), आशन(शरीरको अभ्यास/ब्यायाम), प्राणायाम(श्वास-प्रश्वासको अभ्यास), प्रत्याहार(इन्द्रियहरुको अभ्यास) र धारणा(विचार तथा मनको स्थिरताको अभ्यास)का विधिहरुको अनुसरण गर्नु आवश्यक हुन्छ जसले हामीभित्र सुक्ष्म रुपमा रहेका उर्जाका केन्द्र चक्रहरुलाई जाग्रीत तथा सक्रिय गरि हाम्रो शरीर, मन, भावना, चेतना तथा आत्मालाई शुद्ध र पवित्र बनाउँदछ जसले उपयुक्त अवसरको अभावमा हामीभित्र दबेर रहेका हाम्रा विशेष किसिमका प्रतिभा तथा क्षमताहरु जाग्रीत गर्नुको साथै आफूभित्र प्रवेश गरिने अन्तरयात्रा तथा ध्यानको यात्रालाई सहज र सम्भव बनाउँछ। ध्यान साधना अर्थात शुन्यताको अभ्यासले हामीभित्र आध्यात्मिक व्यक्तित्व जाग्रीत गराउँदछ र ध्यान साधनाका क्रममा वोधमा आउने भावातीत अनुभव तथा अनुभूतिहरुमा हामी अध्यात्म दर्शन अन्तर्गत अध्ययन गरिने आत्मा, परमात्मा, ब्रह्माण्ड, सृष्टि-प्रलय, जन्म-मृत्यु, पूनरजन्म, मुक्ति-मोक्ष, जड-जिव, माया आदिको विषयमा जानकारी प्राप्त गर्न सक्षम हुन्छौं र त्यो परमसत्यमा पुग्छौं जहाँबाट जन्म-मृत्युको चक्र सबै समाप्त भएर हामी परब्रम्हमा स्थित हुदै मोक्ष प्राप्त गर्दछौं।


तसर्थ हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 




No comments:

Post a Comment

हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी              सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनब...