Saturday, 23 March 2024

भौतिक ‘म’ भन्दा पर रहेको पराभौतिक ‘म’ तथा ‘आत्मा’मा स्थित हुन !

                                        डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: भौतिक ‘म’, 'शरीर' तथा ‘अहंकार’ भन्दा पर रहेको पराभौतिक ‘म’ तथा ‘आत्मा’मा स्थित हुन !

सनातन अध्यात्म दर्शनका अनुसार ‘जीन्दगी’ भनेको मानिसले वर्तमान जन्ममा भोगिरहेका अनुभवहरुको संग्रह हो अर्थात भौतिक भोगाइ जो दृश्यमा छ र ‘जीवन’ भनेको मानिसको जन्म-जन्मका स्मृति तथा संस्कारहरुको संग्रह हो अर्थात पराभौतिक भोगाइ जो वर्तमानमा दृश्यमा छैन तर शास्वत सत्य हो।


नेपाली व्याकरणको परिभाषा अनुसार ‘म’ शव्द व्यक्तिले आफूलाई सम्वोधन गर्ने सर्वनाम हो। ‘म’ का भौतिक र पराभौतिक तथा आध्यात्मिक परिभाषा पनि छन्। भौतिक परिभाषा अनुसार मानिसले ‘म’ भनेर दृश्य चित्र आफ्नो शरीरलाई बुझेको तथा मानेको छ जो केवल भ्रम, माया, मिथ्या, सपना तथा जीवनप्रतिको अज्ञानता हो। पराभौतिक परिभाषा तथा अध्यात्मका अनुसार ‘म’ भनेको मानिसको सुक्ष्म शरीरमा स्थित रहेको आत्मा तथा चेतना हो जसले हाम्रो मन र स्थुल शरीरलाई चलाउँछ अर्थात शरीर त केवल एक यन्त्र हो यसको संचालक आत्मा तथा चेतना हो। सनातन अध्यात्म विज्ञानको अनुसार भौतिक शरीरको अन्त्य तथा मृत्युपछि पनि हाम्रो जीवनको अझ विराट पाटो निरन्तर चलिरहेको हुन्छ र यो शाश्वत सत्य हो। वास्तविक ‘म’ भनेको हाम्रो भौतिक शरीर नभएर आत्मा तथा चेतना हो भनेर वोध हुनु नै आत्मवोध तथा तत्वज्ञान हुनु हो, परमात्मा प्राप्ति तथा मोक्ष प्राप्तिको मार्गमा अग्रसार हुनु हो। र ‘म’ भनेको केवल भौतिक शरीर मात्र हो र भौतिक संसारबाट प्राप्त हुने क्षणिक सुख-सुविधाको भोग मात्र हो भनेर बुझ्नु अहंकार तथा मनुष्य जन्मको विराट जीवनलाई सिमित रूपमा बुझ्नु हो। आत्मवोध तथा तत्वज्ञानप्रतिको अज्ञानताकै कारण भौतिक जीवन जीउने क्रममा मानिसले आफ्नो असली पहिचान नै अहंकारका विविध परतहरुबाट निर्माण गरेको हुन्छ र आफूलाई म यो हुँ, म त्यो हुँ, म यस्तो हुँ, म त्यस्तो हुँ भनेर मान्ने गर्दछ र त्यसै अनुसार आफूलाई परिवार, साथीभाइ, समाज तथा संसारमा चिनाउने गर्दछ। उसका अहंकारका विविध परतहरु तथा चिनारीहरुमा थोरै मात्र पनि ठेस लाग्यो तथा प्रतिकुलता आयो भने उसले अपमान, दुःख तथा पिडाको अनुभूति गर्दछ र यिनै अपमान, दुःख तथा पिडानै उसको जीवनमा शारीरिक तथा मानसिक रोग, आलश्यता, असफलता, बेखुशी, कमजोर आत्मबल, खराव सम्वन्ध, अज्ञानता, आँटेको काम पूरा गर्न नसक्ने, अशान्त भैरहने आदिको कारण बन्दछ र यहीकारणले मानिसले आफ्नो जीवनमा सुख, शान्ति, समृद्धि हासिल गर्न सक्दैन र भौतिक संसारको भवसागरमा कहिल्यै अन्त्य नहुने जन्म-मृत्युको दु:खदायि चक्रमा घुमिरहन्छ। 
 

अहंकारमा मानिसले आफ्नो भौतिक शरीरलाई नै वास्तविक ‘म’ मानिरहेको हुनाले यही भौतिक ‘म’ लाई आराम तथा सुख र सुविधा प्रदान गर्नकालागि म, मेरो, मलाई . . . भन्ने भावले उ भित्र-वाहिरबाट भरिएको हुन्छ र भौतिक जगतमा उपलव्ध वस्तु तथा सेवाहरुको सुख-सुविधाहरु भोग गर्न लालायित भइरहेको छ हरप्रकारले र उसले वास्तविक ‘म’ तथा ‘आत्मा’लाई पुर्णतः बिर्सेर केवल खाउ, पिउ, रमाउमा अमूल्य मानव जन्मको अवमूल्यन गरिरहेको छ। वास्तवमा मानव भएर जन्मनुको मुख्य कारण भौतिक जीवनयापन तथा वाहिर दृश्यमा रहेको भौतिक 'म' अर्थात शरीरलाई सम्यक किसिमले सहज गर्नुका साथसाथ पातन्जल योगदर्शन शास्त्रमा  शुत्रवद्ध गरिएका योगका यम, नियम, आसन, प्राणायाम तथा प्रत्याहार, धारणा, ध्यान, र समाधिका विधिहरुको सही अनुशरण र अभ्यास गर्दै आफूभित्रको अदृश्य अर्थात पराभौतिक 'म' तथा आत्मालाई बुझेर र आत्मवोध गरेर जन्म-मृत्युको चक्रबाट मुक्त भएर मोक्ष प्राप्ति गर्नकालागि हो। आजसम्मका हजारौं वर्षदेखि गर्दै आइएका प्रयोगात्मक अभ्यासका अनुभवहरुलाई हेर्दा मानिसमा वास्तविक 'म' तथा आत्माको अनुभूति गराउन केवल योगध्यान साधनाको माध्यमबाट मात्र सम्भव भएका थुप्रै दृष्टान्तहरु हाम्रा सामु छन्। योग अभ्यास तथा ध्यान साधनाबाट मानिसले सर्वप्रथम आफूभित्र रहेका उर्जाका श्रोत सात चक्रहरुको जागरणबाट परमउर्जा प्राप्त गरि आफूतिर फर्कन्छ तथा आफूभित्र प्रवेश गर्दछ र आफूलाई जान्दछ र विस्तारै आफूभित्रको अन्तरयात्रा प्रारम्भ गर्दछ। आफूभित्र जाने अन्तरयात्राको क्रममा एकमात्र परमसत्य आत्मा तथा वास्तविक ‘म’ को अनुभूति तथा आत्मवोध गर्दछ जसको न कहिल्यै जन्म हुन्छ न कहिल्यै मृत्यु हुन्छ हुन्छ त केवल अन्तिम विन्दु मोक्षमा पुग्नकालागि विकास मात्र यदि हामीले हाम्रो मानव जन्मलाई सत्कर्ममा लगायौं भने।


तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 


No comments:

Post a Comment

हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी              सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनब...