Monday, 12 February 2024

चिकित्सा विज्ञान र अध्यात्म विज्ञानको अन्तरसम्वन्ध बुझेर स्वस्थ रहन !

                                                             डा. सिर्जना भण्डारी 


प्रश्न: ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: चिकित्सा विज्ञान र अध्यात्म विज्ञानको अन्तरसम्वन्ध बुझेर पूर्णरुपमा स्वस्थ रहन !


अध्यात्म विज्ञान आफैंमा मानिसका शारीरिक, मानसिक तथा व्यवहारीक सबै किसिमका समस्याहरुको उपचार तथा समाधान गर्न सक्ने एक विराट चिकित्सा विज्ञान हो। गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक आधुनिक चिकित्सा विज्ञानको जननी अध्यात्म चिकित्सा विज्ञान नै हो। अध्यात्म चिकित्सा विज्ञानका विभिन्न शाखाहरु छन् र ति मध्य योग चिकित्सा, आयुर्वेद चिकित्सा, प्राकृतिक चिकित्सा प्रमुख मानिन्छन्। यिनै प्राचीन उपचार तथा चिकित्सा पद्धतिहरुको अनुशरण गर्दै र समयको आवश्यकता अनुसार सकारात्मक परिमार्जन हुँदै आधुनिक चिकित्सा विज्ञान आजको यो अवस्थासम्म आइपुगेको हो र अवस्था, परिस्थिति तथा आवश्यकता अनुसार सकारात्मक परिमार्जनको क्रिया निरन्तर चलिरहेकै छ र आधुनिक चिकित्सा विज्ञान ले नयाँ-नयाँ उपचार पद्धति तथा औषधीहरुको खोज तथा आविस्कार गर्दै मानवसेवामा ठूलो योगदान पुर्याउदै आइरहेको छ।  


योग विज्ञान तथा योग चिकित्सा विज्ञान अध्यात्म चिकित्सा विज्ञानको एउटा महत्वपूर्ण शाखा तथा अंग हो जसले मानिसको स्वाश्थ्यका चारवटै आयामहरु- शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्यर चेतानात्मक तथा आत्मिक स्वास्थ्यलाई चुस्त-दुरुस्त राख्न शतप्रतिशत मद्धत गर्दछ। ‘योग’ शव्दको परिभाषा विराट छ, व्यवहारीक प्रयोगलाई आधार मानेर भन्नु पर्दा मानव अस्तित्वका चार आयामहरु- स्थुल शरीर, मन, भावना र चेतनाको सकारात्मक जोड योग हो र आध्यात्मिक प्रयोगलाई आधार मानेर भन्नु पर्दा हामी भित्र अन्तरनिहीत आत्मतत्व र परमतत्व तथा परमात्मासंगको जोड योग हो। महर्षि पतन्जलिले पातन्जल योगशुत्रमा योगका आठ किसिम बताउनु भएको छ- (१)यम, (२)नियम, (३)आशन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान र (८)समाधि।*


यम र नियम
यम(अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह) र नियम(शौच, संतोष, तप, स्वाध्याय, ईश्वर-प्रणिधान) अन्तर्गत मानिसले आफूप्रति र अरु तथा संसारप्रति गर्नुपर्ने सकारात्मक व्यवहार, बोलीचाली तथा भाषा, आचरण, सोच-विचार, प्रेम तथा सेवा/सहयोगी भाव, शरीर तथा मन शुद्धी, सन्तोष, स्वाध्याय, परिश्रम, परमशक्तिप्रति आस्थावान रहन सिकाउँदछ जसले मानिसलाई सकारात्मक, सुखी, खुशी, सफल, समृद्ध, शान्त, आनन्दित रहन मद्धत गर्दछ र उ पूर्णरुपमा आध्यात्मिक व्यक्ति बन्दछ। यदि मानिस सही अर्थमा आध्यात्मिक छ भने उसमा शारीरिक, मानसिक तथा व्यवहारिक कुनै प्रकारका समस्याहरु रहदैनन् र छन् भनेपनि स्वतः समाधान हुदै जान्छन्। 


आसन
योगका आसनहरुको नियमित अभ्यास तथा व्यायामले मानिसको स्थुल शरीर चुस्त-दुरुस्त तथा स्वस्थ राख्न मद्धत गर्दछ। मानिसको स्थुल शरीर स्वस्थ छ भने बाँकी तीन शरीरहरु- मनश, भाव र चेतन तथा आत्मिक शरीरमा पनि यसको सकारात्मक प्रभाव पर्दछ र योगका अगाडिका विधिहरु प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिका प्रक्रियाहरुमा प्रवेश गर्न तथा तिनका विधिहरु अनुशरण गर्न सहजता प्रदान गर्दछ।


प्राणायाम र प्रत्याहार
प्राणायाम र प्रत्याहारले हाम्रो शरीरका हरेक अंग तथा तन्तुहरुमा प्राण वायु अक्सिजन सुन्तुलित मात्रामा उपलव्ध गराउनुकासाथै ब्रह्माण्डबाट निरन्तर प्राप्त भैरहेको प्राण उर्जाको संचार हाम्रो शरीरका सबै आयाम, अंग तथा तन्तुहरुममा गर्दछ र हामीलाई पूर्णरुपमा स्वस्थ रहन मद्धत गर्दछ। प्राण उर्जाले हाम्रो शरीरमा सुक्ष्म रुपमा रहेका उर्जाका केन्द्र चक्रहरु सन्तुलित तथा जाग्रीत गराउँदछ र सन्तुलित तथा जाग्रीत चक्रहरुले हामी भित्र रहेका सुखी तथा खुशी हने क्षमता, आफ्नो जीवनलाई व्यवस्थित गर्ने क्षमता, अरुसंग सम्वन्ध सहज बनाउने क्षमता तथा हामीले जन्मदै आफ्नो संकारमा लिएर आएका तर अवसरको अभावकाकारण हामी भित्रै दवेर रहेका हाम्रा विशेष प्रतिभा तथा क्षमताहरु जाग्रीत गराउँदछ र हाम्रो जीवन सहज, सफल, शान्त, समृद्ध तथा आनन्दित किसिमले चल्न मद्धत गर्दछ।


धारणा, ध्यान र समाधि
माथि उल्लेखित योग चिकित्साका पाँच बहिरंग अंगका विधिहरुमा व्यवहारिक रुपमा हाम्रो शरीर, मन, भाव, र चेतना पूर्णतः सहज तथा अभ्यस्त भएपछि योग चिकित्साका अन्तरंग अंगहरु- धारणा, ध्यान र समाधिको अनुसरण सहजै गर्न सक्ने अवस्थामा पुग्छौं र हामी क्रमशः योगको भावातीत अनुभूतिमा सहजै प्रवेस गर्न सक्छौं जसले मनुष्यलाई जन्म-मृत्युको चक्रबाटनै मुक्त गरि परब्रह्ममा स्थित गराइ मोक्ष प्राप्त गर्न मद्धत गर्दछ।

No comments:

Post a Comment

हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी              सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनब...