Wednesday, 6 March 2024

योग-ध्यान साधनाबाट हाम्रो शरीर, व्यक्तित्व, र जीवनको पूर्णता हासिल गर्न!

                                                  डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?

उत्तर: शिक्षा र साधनाबाट हाम्रो शरीर, व्यक्तित्व र जीवनको  पूर्णता हासिल गर्न !

हाम्रो शरीरका पांचतह तथा पंचकोश
(Yogic Layers to the SELF)

हाम्रो शरीर तथा जीवनमा सन्तुलन स्थापना गर्ने पंचकोश(Five Vital Sheaths)- अन्नमय, मनोमय, प्राणमय, विज्ञानमय र आनन्दमय कोश मध्य चारकोशहरुको सन्तुलित निर्माण तथा विकास हामीले जीवनमा हासिल गर्ने औपचारिक तथा अनौपचारिक शिक्षाले गर्दछ र सबैभन्दा भित्रको आनन्दमय कोश जहाँ हाम्रो आत्मा तथा चेतना स्थित हुन्छ यस कोशको सन्तुलित निर्माण तथा विकास योग तथा ध्यान साधनाको माध्यमबाट मात्र गर्न सकिन्छ। मानिसमा रहेको आनन्दमय कोशको विकास नै परमसत्य तथा परमात्माको खोजी हो।

हामी मनुष्यहरु दुई किसिमको जीवन जीरहेका हुन्छौं, एउटा भौतिक जीवन ‘शरीर’ र अर्को पराभौतिक अर्थात आध्यात्मिक जीवन ‘आत्मा’ तथा 'चेतना'। सनातन अध्यात्म दर्शनका अनुसार हाम्रो समग्र शरीर तथा जीवनको बनावट पंचकोशबाट निर्मित भएको हुन्छ र यिनै पंचकोशहरुले नै हाम्रो भौतिक तथा पराभौतिक शरीर तथा जीवन सन्तुलित रुपमा संचालन गर्ने गर्दछन् तसर्थ आध्यात्मिक जागरण मार्फत पंचकोश र मानिसको भौतिक तथा पराभौतिक अर्थात आध्यात्मिक जीवनको अन्तर-सम्वन्धबारे शिक्षा तथा चेतना सबै मानिसहरुमा पुर्याउनु आजको समयमा अति आवश्यक देखिएको छ। हाम्रो शरीर तथा जीवनको सन्तुलित निर्माण तथा विकास गर्ने यिनै पंचकोशहरुको वनावट अनुसारनै मानिसको रुची तथा व्यक्तित्व निर्माण हुने गर्दछ। पंचकोशहरूलाई सन्तुलनमा राख्न हरेक व्यक्तिमा आध्यात्मिक शिक्षा र साधनाको महत्वपूर्ण भूमिका रहने गर्दछ।

अन्नमय कोश(Physical Body)- हामीले भोजन गर्ने अन्नबाट हाम्रो शरीरको निर्माण हुने भएकोले हाम्रो शरीरलाई अन्नमय कोश भनिन्छ। हाम्रो भौतिक शरिर र मन हामीले प्रकृतिबाट प्राप्त भएका भोजनहरुको सेवनबाट बन्दछ। हामी जस्तो भोजन गर्दछौं हाम्रो शरीर र मन पनि त्यस्तै बन्दछ तसर्थ आध्यात्मिक जागरणमा यस किसिमको शिक्षालाई समावेश गर्नु अति आवश्यक छ साथै स्कुल, कलेज तथा विश्वविद्यलयका पाठ्यक्रमहरुमा पनि पंचकोश र हाम्रो जीवनको अन्तर-सम्वन्धका विषयहरु समावेश गर्नु आवश्यक छ। अन्नमय कोशलाई यो भन्दा भित्र रहेको प्राणमय कोशले सन्तुलित राख्दछ।

प्राणमय कोश(Energy Body)- हाम्रो जीवन शक्ति (Vital Power) प्राणमय कोश हो। पाँच प्राणले हाम्रो भौतिक शरीरलाई चलाउँछ। प्राणमय कोशलाई यो भन्दा भित्र रहेको मनोमय कोशले सन्तुलित राख्दछ।

मनोमय कोश (Mental Body)- मनोमय कोश हाम्रो मनसंग सम्वन्धित छ, विचारहरुको समुह मन हो। पाश्चात्य दर्शन तथा फिलोसोफी [दर्शन (अप्रमाणित अलौकिक विषय) र फिलोसोफी (व्यवहारिक प्रयोगद्वारा प्रमाणित  विषय) फरक-फरक विषय हुन् ] ले यसैलाई मनोविज्ञान(Psychology) भन्ने गर्दछ। मनोमय कोशलाई यो भन्दा भित्र रहेको विज्ञानमय कोशले सन्तुलित राख्दछ।

विज्ञानमय कोश(Wisdom Body)- विज्ञानमय कोशलाई विवेक भनिन्छ जसले सत्य र असत्य विच भेद छुट्याएर सत्यको अन्वेषण तथा खोजी गर्दछ। विज्ञानमय कोशलाई यो भन्दा भित्र रहेको आनन्दमय कोशले सन्तुलित राख्दछ।

आनन्दमय कोश(Bliss Body)- आनन्दमय कोश भित्र हाम्रो आत्मा तथा चेतना स्थित हुन्छ। जव शिक्षाको माध्यमबाट मानिसले चारकोशहरुको भेदन गरि अझ माथि उठ्दछ तव आनन्दमय कोशमा प्रवेश गर्दछ र योग तथा ध्यान साधनाको अनुसरण गरेर मानिस आफूभित्रको वास्तविक 'म' अर्थात आत्मा तथा चेतनामा पुग्दछ र परम आनन्द तथा सतचितआनन्दमा सदाकालागि स्थापित हुन्छ। यसप्रकार हाम्रो शरीर, मन, प्राण, ज्ञान, विवेक, समृद्धि, व्यक्तित्व, शान्ति र आनन्दलाई सन्तुलनमा राख्ने सर्वाधिक महत्वपूर्ण कोश आनन्दमय कोश हो र आनन्दमय कोशलाई सन्तुलित गर्ने योग तथा ध्यान साधना नै एक मात्र विधि तथा उपाय हो।

तसर्थ, हामी सबैले योग तथा ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 

No comments:

Post a Comment

हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी              सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनब...