Monday, 11 March 2024

आफूभित्रका क्षमताहरु जाग्रित गरि सुख, शान्ति र समृद्धि हासिल गर्न !

                                                 डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ?  

उत्तर: आफू भित्रै रहेका स्वास्थ्य, खुशी, आत्मविश्वास, सम्वन्ध, ज्ञान, संकल्प र शान्त हुन सक्ने क्षमताहरु जाग्रित गरि जीवनमा सुख, शान्ति र समृद्धि हासिल गर्न !

हरेक मानिसको चाहना एउटै छ कि आफ्नो जीवनमा सुख, शान्ति र समृद्धि भरियोस्। यसकालागि मानिसले दिनरात सक्दो प्रयत्न पनि गरिरहेको छ तर चाहेजति सफलता हासिल गर्न सकेको छैन किनकी हामी मनुष्यहरु अज्ञानताका कारण भ्रमको जीवन जीरहेका छौं र जीवनमा हासिल गर्न चाहेको सुख, शान्ति र समृद्धिका श्रोतहरु आफू भन्दा वाहिर अर्थात भौतिक संसारमा खोजिरहेका छौं तर वास्तविकता हाम्रो बुझाइ भन्दा निकै फरक रहेको छ। हामीले आफ्नो जीवनमा हासिल गर्न चाहेका सुख, शान्ति र समृद्धिका हरेक उपलव्धि तथा सफलताका वहुमूल्य प्रतिभा तथा क्षमताका श्रोतहरु वाहिरको भौतिक संसारमा नभएर हामी भित्रै निहित छन्, हामीले सही विधिको प्रयोग गरेर तिनलाई उजागर गर्न तथा जगाउन नजानेका मात्र हौं। आफूभित्रका प्रतिभा तथा क्षमताहरु उजागर गर्न नजानेकै कारण आजको मनुष्य चरम अस्वस्थता, तनाव, आत्म-विश्वासको कमी, खराव सम्वन्ध, अज्ञानता, असफलता तथा अशान्तिको जीवन जीरहेको छ। सनातन अध्यात्म दर्शनका अनुसार योग तथा ध्यान साधनाका विधिहरुलाई सही ढंगले अनुशरण गरेर यि सबै समस्याहरुको समाधान सहजै गर्न सकिन्छ र यो तथ्य विश्वास तथा आस्वासनमा आधारित नभएर हजारौं वर्षदेखि प्रयोगद्वारा आएका प्रामाणिक तथ्यहरुले पुष्टी गरिसकेका छन्। हामी भित्र निहित सुख, शान्ति र समृद्धिका वहुमूल्य प्रतिभा तथा क्षमताका श्रोतहरु जगाउन योग तथा ध्यान साधनाका विधिहरु महत्वपूर्ण र अत्यन्त प्रभावकारी रहेको वास्तविक तथ्यलाई आजको युगमा गरिएका विभिन्न वैज्ञानिक शोधकार्यहरुले पनि प्रमाणित गरिसकेका छन्।


हामी मनुष्यहरु दुई किसिमको जीवन जीरहेका हुन्छौं, एउटा भौतिक जीवन ‘शरीर’ जो दृश्य छ र अर्को पराभौतिक अर्थात आध्यात्मिक जीवन ‘आत्मा’ तथा 'चेतना' जो अदृश्य छ। मानिसको सिंगो जीवन अर्थात शरीर, आत्मा तथा चेतना भौतिक र पराभौतिक अवयवहरुको समिश्रण हो र यि अवयवहरु एकअर्काका अपरिहार्य परिपूरक हुन अर्थात शरीरको अभावमा आत्मा तथा चेतनाको कुनै अस्तित्व रहदैन र आत्मा तथा चेतनाको अभावमा शरीरको कुनै अस्तित्व रहदैन। पूर्वीय अध्यात्म दर्शनले हजारौं वर्षदेखि मानिससंग सम्वन्धित सम्पूर्ण स्वस्थ्य-अस्वस्थ, सुख-दुःख, साहस-दुस्साहस, प्रेम-घृणा, ज्ञान-अज्ञान, सफलता-असफलता, शान्ति-अशान्तिका विषयहरुलाई योग तथा ध्यान साधनाका विधिहरुको सही अनुशरण गरिएका प्रयोगमा आधारित तथ्य तथा तथ्यांकहरुले पुष्टि गरेर प्रामाणिक तथा वैज्ञानिक ज्ञान विभिन्न शास्त्रहरुमा लिपिवद्ध गरिदिएको छ। महर्षि पतन्जलीद्वारा लिपिवद्ध गरिएको महान शास्त्र ‘योग दर्शन’ले मानिसमा माथि उल्लेखित समस्याहरुको समाधान मानिस आफैंले योग तथा ध्यान साधनाका विधिहरुको अनुशरण गरेर आफू भित्रै निहित रहेका प्रतिभा तथा क्षमताहरु जगाएर सहजै समाधान गर्न सक्छ भन्ने कुरा सुत्रवद्ध गरिदिएको छ। योग दर्शन शास्त्रमा उल्लेखित सुत्रहरुका अनुसार मानिसको शरीरको मेरुदण्डमा भौतिक शरीर र पराभौतिक शरीर- आत्मा तथा चेतनालाई सन्तुलित किसिमले सुचारु गर्ने उर्जाका केन्द्र सात चक्रहरु अवस्थित छन् र हरेक चक्रसंग मनिसको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन आवश्यक पर्ने स्वास्थ्य, खुशी, आत्मविश्वास, सम्वन्ध, ज्ञान, संकल्प र शान्त हुन सक्ने मानिसका प्रतिभा तथा क्षमताहरु सम्वन्धित छन्। योग तथा ध्यानका विधिहरुको सही ढंगले अनुशरण गरेर हामी भित्रै रहेका यि उर्जा तथा क्षमता र प्रतिभाका श्रोतहरुको उजागर अर्थात हाम्रा उर्जाका अनन्य श्रोत सातवटा चक्रहरु- मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद्, विशुद्धी, आज्ञा र सहश्रारको जागरण गरि हामी आफैंले आफ्नो जीवनलाई सुख, शान्ति र समृद्धिले सम्पन्न गर्न सक्दछौं।


तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 


No comments:

Post a Comment

हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी              सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनब...