Thursday, 14 March 2024

आफ्नो दियो आफैं बनी विश्व समाजमा मानवीय मूल्यमान्यता स्थापित गर्न !

                                                         डा. सिर्जना भण्डारी 


प्रश्न: योग-ध्यान साधना मार्फत स्वजागरण किन आवश्यक छ? 

उत्तर: ‘अत्त दिपो भव’- आफ्नो दियो आफैं बनी विश्व समाजमा मानवीय मूल्य मान्यता स्थापित गर्न !

हाम्रा पाँच ज्ञान इन्द्रियहरुबाट प्राप्त सूचना तथा जानकारीहरुका कारण हाम्रो मस्तिष्क तथा स्नायु प्रणालीमा चलिरहने विगत, वर्तमान र भविश्यका विषय तरगंहरु ‘विचार’ हुन्, विचारहरुको समुह ‘मन’ हो र हाम्रो मन नै सवैथोक हो, मन व्यवस्थापन भयो भने हाम्रो जीवन स्वतः व्यवस्थित हुन्छ। सनातन अध्यात्म दर्शनका अनुसार शारीरिक तथा मानसकि स्वास्थ्य सन्तुलित हुनु, काम गर्न जाँगर लाग्नु; जीवन रमाइलो लाग्नु र खुशी भइरहनु; जीवनमा आफूले आँटेको तथा चाहेको काम सफलतापूर्वक सम्पन्न गर्न सक्नु; आफ्ना सम्वन्धहरु सुमधूर बनाउन, अरुलाई मद्धत तथा सेवा गर्न र दया, करुणा, प्रेम बाँड्न सक्नु; सकारात्मक सोच, सिर्जनात्मक कार्यशैली तथा सुमधूर बोली-व्यवहार र सकारात्मक विचार राख्न सक्नु अर्थात संस्कारी हुनु; संकल्प शक्ति प्रगाढ हुनु तथा संकल्प पूरा गर्न सक्नु, सही समयमा सही निर्णय लिन सक्नु र जस्तोसुकै परिस्थितिमा शान्त तथा आनन्दित रहन सक्नु व्यवस्थित जीवनशैलीको वास्तविक पहिचान हो।


जुन व्यक्तिको मन व्यवस्थित हुन्छ उसको जीवन स्वतः व्यवस्थित हुन्छ। मन व्यवस्थित गर्न मनलाई सकारात्मक तथा नकारात्मक दिशा प्रदान गर्ने विचारहरुको जरोमा पुग्नु आवश्यक हुन्छ र विचारलाई व्यवस्थित गर्न हाम्रो स्नायु प्रणालीमा सूचना तथा जानकारीहरु पठाउने हाम्रा पाँच ज्ञान इन्द्रियहरुलाई व्यवस्थित गर्नु आवश्यक हुन्छ। यसकालागि महर्षि पतन्जलिले सुत्रवद्ध गर्नु भएको योगदर्शन शास्त्रमा उल्लेखित अष्टागं योगको पाँचौं अंग ‘प्रत्याहार’ विधिको अनुशरण गर्नु आवश्यक हुन्छ। प्रत्याहार शव्दमै अर्थ छ ‘आहार’, हाम्रा इन्द्रियहरुलाई के-कस्ता आहारहरु प्रदान गर्ने त हामीले!? भनिन्छ जस्तो आहार त्यस्तै विचार, जस्तो विचार त्यस्तै आचार तथा मन र जस्तो मन त्यस्तै जीवन। आँखाको देख्ने तथा हेर्ने गुणलाई कस्ता आहारहरु प्रदान गर्ने- सात्विक(सहजता र सफलता उन्मुख दिशातिर लैजाने), राजसिक(सक्रियता गराए पनि अलमल तथा दुविधा उन्मुख दिशतिर लैजाने) कि तामसिक (रोग, शोक, चिन्ता, असफलता, अन्धकार उन्मुख दिशातिर लैजाने)!? त्यस्तै कानको सुन्ने गुणलाई, नाकको सुघ्ने गुणलाई, छालाको स्पर्श महसुस गर्ने गुणलाई र जिब्रोको स्वाद महसुस गर्ने तथा वोलीवचन व्यक्त गर्ने गुणलाई कस्ता आहारहरु प्रदान गरिरहेका छौं हामीले- सात्विक, राजसिक कि तामसिक!!?? एक पटक राम्ररी मनन् गरौं हामी सबैले। यदि हामीले हाम्रा ज्ञान इन्द्रियहरुलाई सात्विक आहारहरु प्रदान गरिरहेका छौं भने त सुनमा सुगन्ध भैहाल्यो। तर यदि राजसिक तथा तामसिक आहारहरु प्रदान गरिहेका छौं भने पनि हामी त्यसलाई योगध्यान साधनाका विधिहरु अनुशरण गरेर सूधार गर्न र विस्तारै सात्विकतातिर लैजान सक्छौं। भनिन्छ योगध्यान सर्वोऔषधी हो, जस्तोसुकै जीवनशैली भएको मानिसले जुनसुकै उमेरमा योगध्यान साधना प्रारम्भ गर्न सक्छ र आफ्ना ज्ञान इन्द्रियहरुलाई विस्तारै व्यवस्थित गर्न सक्छ, ज्ञान इन्द्रियहरुलाई  सात्विक आहारहरु प्रदान गर्न सक्छ। नियमित योगध्यान साधनाका विधिहरु अनुशरण गर्दै गर्दा थाहै नपाइकन हाम्रा ज्ञान इन्द्रियहरु सात्विक आहारतिर स्वतः लालाइत र अभ्यस्त हुदै जान्छन्। ज्ञान इन्द्रियहरु प्रत्याहारमा अभ्यस्त भएपछि विस्तारै साधकको विचार कम र शुद्ध हुदै जान्छ, मन शुन्य तथा शुद्ध हुदै जान्छ र मन शुन्य तथा शुद्ध भएपछि विस्तारै हाम्रो सुक्ष्म शरीरमा रहेका उर्जाका केन्द्र सातवटा चक्रहरु जाग्रीत हुन थाल्छन् र चक्रहरुको उर्जा सन्तुलित रुपमा प्राप्त गरेपछि हाम्रो चेतना विस्तारै आत्मज्ञानको बाटोतिर अगाडि बढ्न थाल्छ र विस्तारै सम्पूर्ण रुपमा हाम्रो जीवन तथा जीवनशैली व्यवस्थित हुदै जान्छ र मानिस आफ्नो दियो(प्रकाश तथा गुरु) आफैं बन्न सक्षम हुन्छ। यसरी आफ्ना ज्ञान इन्द्रियहरु, विचारहरु, मन र जीवनको सही व्यवस्थापन गरि आफ्नो दियोआफैं बन्न सक्षम मानिसले मात्र विश्व समाजमा मानवीय मूल्य मान्यता स्थापित गर्न सक्छ। सबैको जीवन व्यवस्थित भयो भने विश्व समाजमा स्वतः मानवीय मूल्य मान्यता स्थापित हुन थाल्छ र विश्वमा वुद्ध भगवानले प्रचार गर्नु भएको जस्तो पूर्ण शान्ति छाउँछ।


तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। 

No comments:

Post a Comment

हरपल नयाँ कुराहरु सिकिरहन: श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनबिच दिव्य संवाद !

                                                         डा. सिर्जना भण्डारी              सन् १९६९ मा श्रद्धेय ओशो र कविवर हरिवंश राय बच्चनब...